Saturday, January 30, 2021

एउटा प्रश्न सोध्नु छ

 

 1000+ Engaging Couple Goal Photos · Pexels · Free Stock Photos
 
 
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
थुप्रै चाहना छन् मेरा, के सबै पुर्याउन सक्छौ?
 
सुरु सुरुमा यस्तै त हो नि, सबै राम्रो लाग्छ
'हाँसो मेरो' 'दु:ख तिम्रो' होइन, सबै 'हाम्रो' लाग्छ
पछिसम्मै मसँग हुँदा यसरी नै रमाउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
एक होइन, धेरै पटक तिम्रो मन दुखाउँला
तिम्रो कुरै नबुझी तिमीसँग रिसाउँला
बिनाकारण नै रिसाए पनि मलाई फकाउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
अहिलेको निश्छल भावना दिनहरु सँगै अल्झिएला
म बदलिन्छु, तिमी बदलिन्छौ, समय बदलिएला
पछि सबै बदलिँदा पनि मलाई अपनाउन सक्छौ ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
तिम्रो साथ दिने वाचा त गरुँला, तर बीच बाटोमै हात छुट्यो भने
जुनी जुनीलाई गाँसेको साइनो आधी जिवनमै टुट्यो भने
गलती मेरै भएपनी, आफुलाई सच्याउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?



दिपाली झा
#DJ
 



No comments:

Post a Comment